बाबुरामसँगै बामदेव पनि गोलाकारभित्रको हसिँया हथौडाबाट चुनाव लड्ने

बाबुरामसँगै बामदेव पनि गोलाकारभित्रको हसिँया हथौडाबाट चुनाव लड्ने

काठमाडौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँगै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम पनि गोलाकारभित्रको हसिँया हथौडाबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। आज पेरिसडाँडामा बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम र बामदेवलाई आफ्नो चुनाव चिह्न प्रदान गर्न स्वीकृति दिएको हो।

माओवादीको चुनाव चिह्न सहज हुने देखेर बामदेव गौतम आफैँले माओवादीलाई प्रस्ताव गरेका थिए। यद्यपि बामदेव र बाबुराम दुवैले सर्तहरू राखेकाले त्यसबारे गठबन्धनमा छलफल हुने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी स्थायी कमिटी बैठक भोलि पुनः बस्नेछ। भोलि पनि यसबारे विस्तृतमा छलफल हुने बताइएको छ।

यस्तै आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपा तथा एकता अभियानका नेताहरू निर्वाचन आयोग जाँदैछन्। आयोगलाई एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने जानकारी दिन उनीहरू आयोग जान लागेका हुन्।

साउन ३१, २०७९ मंगलबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।