प्रतिनिधि सभा बैठक: फिर्ता भएको नागरिकता विधेयकबारे संसद्लाई जानकारी गराइने

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्दैछ। ११औं अधिवेशनको ५५औं बैठकको आज विभिन्न कार्यसूची रहेको छ।
जसमध्ये आज प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता
भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनेछन्।
यस्तै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउनेछन्।
सभामुख सापकोटाले नै अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री जनार्दन शर्माले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
“पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजैको बैठकमा राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
मन्त्री बडूले नै राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत पनि गरिनेछ।
उनले राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
साउन ३१, २०७९ मंगलबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।