टानको अध्यक्षमा कांग्रेस समर्थित बाँस्तोला विजयी

टानको अध्यक्षमा कांग्रेस समर्थित बाँस्तोला विजयी

काठमाडौंः पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन्। गए राति सम्पन्न टानको ४४औं वार्षिक साधारण सभा एवम् निर्वाचनबाट उनी ६१६ मत प्राप्त गरी विजयी भएका हुन्।

बाँस्तोला कांग्रेस समर्थित पर्यटन व्यवसायी हुन्। उनलाई एमाले र एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीहरूको साथ थियो।

बाँस्तोलाका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरे। निर्वाचनमा बाँस्तोलाको प्यानल नै विजयी भएको छ।

निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन्।

यस्तै महिला सदस्यमा सजना त्रिपाठी ,खुला सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष बाँस्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रूपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। कोभिडबाट सिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बाँस्तोलाले बताए।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ। टानमा एक हजार ८५० व्यवसायी आबद्ध छन्।

साउन ३१, २०७९ मंगलबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।