देउवाको भाषण : जसलाई सुनाउन गरियो उसैले बेवास्ता गर्छ

काठमाडौं : केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिको लागि दुई दिवसीय अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि थिए, कांग्रेस सभापति शेरबहादुर देउवा। प्रमुख अतिथि भएपछि भाषण त हुने नै भयो।
मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन हुँदैछ। सोको तयारीको लागि दलहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखे। कांग्रेसको साइत ढिलो जुर्यो। यसअघि एमाले र माओवादीले सो काम गरिसकेका छन्।
सोमबार ललितपसुरको हेरिटेज गार्डेनमा देउवाले लिखित भाषण वाचन गरे। ठूलो हलको स्पिकरमा उनको आवाज बुझिएन। जनप्रतिनिधि हल्ला गर्न थाले। कांग्रेसका पदाधिकारी एक आपसमा कुराकानी र कानेखुसी गर्न थाले भने कोही जनप्रतिनिधिलाई बाँडेको कागज हेर्नमा व्यस्त भए।
महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार मोबाइलमा घोत्लिरहे। अर्का महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे कानेखुसी गर्नमा व्यस्त भए।
पाका नेता तथा पूर्व पदाधिकारी गोपालमान श्रेष्ठ तन्द्रामा थिए। वरिष्ठ नेता रामचन्द्र पौडैल कहिले जनप्रतिनिधिलाई बाँडिएको कागज हेर्थे त कहिले देउवातिर नजर लगाउँथे।
अर्का सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भने देउवाको पोटो खिच्न भ्याए। देउवाको भाषण जसलाई सुनाउन गरिएको हो उसैले बेवास्ता गरेको यो पहिलो पटक भने होइन। पटक–पटक सार्वजनिक मञ्चमा देउवा भाषण गर्दा यस्तो हुने गर्छ।
यसअघि हेटौंडामा भएको प्रेस युनियनको उद्घाटन सत्रमा समेत देउवा भाषण गरिरहँदा महाधिवेशन प्रतिनिधिहरुले बेवास्ता गरेका थिए।
साउन ३०, २०७९ सोमबार १६:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।