आगो लगाइएका दुई जनामध्ये पत्नीको मृत्यु

आगो लगाइएका दुई जनामध्ये पत्नीको मृत्यु

काठमाडौं : एक साताअघि एक पुरुषले आगो लगाएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ।

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएका थिए। आगो लगाएकामध्ये पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्युँ जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो।

त्यहाँ उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ।

साउन ३०, २०७९ सोमबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।