देउवाले भने : हिजो गठबन्धन अन्त थियो, आज हामीसँग छ, पहिलो पार्टी बन्नुपर्छ

देउवाले भने : हिजो गठबन्धन अन्त थियो, आज हामीसँग छ, पहिलो पार्टी बन्नुपर्छ

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै भेदभाव नगरी संसदीय निर्वाचनमा टिकट दिने दाबी गरेका छन्। पार्टीको संस्थापन इतर समूहले आफ्नो समूहका लागि ४० प्रतिशत टिकट मागिरहेको बेला उनले पार्टीका स्थानीय तहका जनप्रतिनिधीहरुको सम्मेलनमा सम्बोधन गर्दै कसैलाई अन्याय नहुने गरी टिकट दिने दाबी गरे।

'न्यायबद्ध रूपमा टिकट वितरण हुन्छ, कसैलाई अन्याय हुँदैन। तपाईँहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्,' उनले भने।

स्थानीय तहका पदाधिकारीहरूको कामले नै पार्टीको लोकप्रियता बच्ने भन्दै उनले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे। स्थानीय तह निर्वाचनबाट पार्टी बलियो भएको भन्दै अब पार्टीको सबै नेता/कार्यकर्ता र शुभेच्छुकहरूको ध्यान मङ्सिर ४ मा हुनुपर्ने बताए।

२०७४ को निर्वाचनमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको भन्दै उनले अहिले आफ्नै गठबन्धन रहेको बताउँदै अबको निर्वाचनमा पहिलो पार्टी बन्छ भनेर लाग्न आग्रह गरे।

'कति ठाउँमा जित्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो। यसमा साथीहरूले मनन गरेर लाग्नु होला। पार्टीका साथीहरूलाई भेदभाव गर्दिन। सबैलाई मिलाएर लाने इच्छा छ,' उनले भने।

ग्रास रुटमा प्रजातन्त्र ल्याउने स्थानीय तहले नै हो भन्दै उनले जनता यो देशको मालिक हो , जनता भन्दा ठुलो कोही छैन भनेर काम गर्न निर्देशन दिए।

'सबै साथीहरू मिलेर लागे चुनाव जितिन्छ। सबै साथीहरूलाई जनतामाझ जान विश्वास जित्न अनुरोध गर्दछु। जनताले गाउँ-गाउँ सिंहदरबार आयो भन्थे। अहिले हामीले केही पाएनौँ भन्न थालेका छन्। जनताको दिल जितेर भोट पाउनु छ। सबै लाग्नुहोस्।'

साउन ३०, २०७९ सोमबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।