चितवनका कांग्रेस नेताको दाबी : प्रचण्ड यसपालि चितवन ३ बाट उम्मेदवार बन्न सक्दैनन्

काठमाडौँ : नेपाली कांग्रेस चितवनका नेता दिनेश कोइरालाले यस पटक संसदीय निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ बाट उम्मेदवार बन्न नसक्ने दाबी गरेका छन्। उनले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीले लिएको भन्दै कांग्रेसले पटक-पटक चितवनको नेतृत्व छाडे त्यसको असर गठबन्धनमै पर्ने दाबी समेत गरे।
उनले गत निर्वाचनमा पनि स्थानीय तहमा कांग्रेसँग गठबन्धन गरेको माओवादी संसदीय निर्वाचनमा एमालेसँग मिल्न गएको भन्दै आफूलाई माओवादी गठबन्धनमा इमानदार हुनेमै शङ्का रहेको दाबी गर्दै भने' गठबन्धन भए पनि प्रचण्डले यस पटक चितवन-३ बाट उम्मेदवार बन्न सक्दैनन्।'
प्रचण्डले जापान पुगेर आफू यो पटक चितवन ३ बाटै उम्मेदवार बन्ने र अन्त नजाने घोषणा गरिसकेका छन्। गत निर्वाचनमा एमालेसँग गठबन्धन गरेर उनी चितवन ३ बाट सांसद भएका थिए।
उनले पाँच दलिय गठबन्धनमा सिट बाँडफाँड गर्दा पार्टीको आकारलाई पहिलो प्राथमिकता दिनुपर्ने र दोस्रोमा गत निर्वाचनमा जुन-जुन क्षेत्र जुन पार्टीले लिएको हो यो पटक त्यो क्षेत्र छाड्नुपर्ने दाबी गरे।
जबकि गठबन्धनमा २०७४ मा जुन क्षेत्र जुन पार्टीले जितेको हो उसैलाई दिने गरी छलफल भइरहेको छ। स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको नेतृत्व माओवादी केन्द्रलाई नदिन कांग्रेसी नेताहरूले ठुलै जोड बल गरे पनि रोक्न सकेनन्। संसदीय निर्वाचनमा पनि उनीहरूले प्रचण्डलाई गठबन्धनबाट क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुनबाट रोक्न सक्ने देखिँदैन।
साउन ३०, २०७९ सोमबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।