फोहोरको समस्या समाधान गर्न गगनले दिए 'संयन्त्र' बनाउने आइडिया

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोरको समस्या समाधान गर्न संयन्त्र बनाउनुपर्ने धारणा अघि सारेका छन्। आज कांग्रेसले आयोजना गरेको स्थानीय जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा उनले सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो धारणा अघि सारेका हुन्।
संघको सरकार र काठमाडौं महानगरले चाहेर पनि यो समस्या समयमा समाधान गर्न नसकेको स्वीकार्दै उनले भने, 'बाटो बनाउने भन्यौँ। वर्षा छ। बाटो समयमा बन्न गाह्रो पनि छ। सार्वजनिक खरिदका प्रक्रिया पूरा गर्नुपर्छ। भनेको समयमा काठमाडौं महानगरले चाहँदा चाहँदै पनि समयमा नभएको होला। सरकारले चाहेर पनि नभएको होला। त्यसैले बलियो अनुगमनको संयन्त्र बनाऔं।'
यस्तै उनले सो संयन्त्रमा काठमाडौं र धादिङका सांसद राख्न पनि सुझाव दिए। उनले अनुगमनभन्दा पनि सहजीकरण गर्नेगरी संयन्त्र गठन गर्ने प्रस्ताव पनि बताए।
'कहिँ अप्ठ्यारो भयो भने गाँठो फुकाउने काम पनि गर्छौँ। कुनै निकायलाई बल पुर्याउनुपर्यो भने बल पनि पुर्याउँछौँ। आवश्यकता पर्यो भने प्रधानमन्त्रीलाई पनि झक्झक्याउँछौँ। आवश्यकता पर्यो भने शहरी विकासमन्त्रीलाई। यसरी काम गर्यौँ भनेदेखि सजिलो हुन्छ। यसो गरे डे टु डे काम हुन्छ', उनले भने।
यस्तै थापाले प्रधानमन्त्रीसँग कुरा गरेर काठमाडौंका जनप्रतिनिधि भेट्न चाहेको भनेर समय मागेको पनि बताए।
समस्या पर्दा सम्झौता गर्ने र पछि त्यत्तिकै छोड्ने प्रवृत्तिले समस्या भएको उनले उल्लेख गरे। वर्षौँदेखिको सम्झौता समाधान नभएकाले बञ्चरे र सिसडोलका स्थानीय आक्रोशित भएको पनि उनले बताए।
साउन ३०, २०७९ सोमबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।