नागरिकता विधेयक फिर्ता पठाएकोमा तरुण दलको आपत्ति, राष्ट्रपतिलाई राजीनामा गर्न दबाब

नागरिकता विधेयक फिर्ता पठाएकोमा तरुण दलको आपत्ति, राष्ट्रपतिलाई राजीनामा गर्न दबाब

काठमाडौंः प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा फिर्ता पठाएकोमा नेपाल तरुण दलले आपत्ति जनाएको छ। दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्न संसद्बाट पास भई प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधि सभामा फिर्ता पठाइएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ।'

यस कदमले नागरिकताविहीन नेपाली जनतामाथि अपमान भएको भन्दै निन्दा र भर्त्सना गरेको छ। यस्तै तरुण दलले राष्ट्रपतिले राजनीतिक प्रतिशोध राखेर विधेयक फिर्ता गरेको पनि आरोप लगाएको छ। 'राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकताविहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठित हुनेगरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरि अन्धकारको भुमरीमा धकेलिएका छन्', विज्ञप्तिमा उल्लेख छ।

यसका साथै तरुण दलले राष्ट्रपतिले राजीनामा दिन उचित हुने पनि जनाएको छ। '...राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद् र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार आग्रह गर्दछ', विज्ञप्तिमा उल्लेख छ।

साउन ३०, २०७९ सोमबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।