किसानले रासायनिक मल नियन्त्रणमा लिएपछि कोटा वृद्धि गर्न माग

किसानले रासायनिक मल नियन्त्रणमा लिएपछि कोटा वृद्धि गर्न माग

काठमाडौंः पर्साका किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्य जिल्ला पठाउन लागिएको ६ ट्रक रासायनिक मल नियन्त्रणमा लिएका छन्। सहजरूपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयले मल नियन्त्रणमा लिएका हुन्।

कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह त्यहाँ पुगेका थिए। उनले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए।

किसानले नियन्त्रणमा लिएको सो मल हाल बालमन्दिर प्राङ्गणमा राखिएको छ। महानगर प्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीबीच यसबारे छलफल भएको छ।

पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ।

वीरगञ्ज महानगरका अनुसार पर्साका कृषकलाई आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको छ।

साउन ३०, २०७९ सोमबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।