जलविद्युत्को शेयरका लागि गतलाङबासी र प्रहरीबीच झडप: आठ प्रहरी घाइते

रसुवाः थाम्बुचेतमा प्रहरी र गतलाङबासीबीच भएको झडपमा दुई जना प्रहरी निरीक्षकसहित आठ सुरक्षाकर्मी घाइते भएका छन्। गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङबासी र प्रहरीबीच आइतबार झडप भएको हो।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीच झडप भएको थियो।
घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन्। आन्दोलनरत गतलाङबासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक समेतका कम्पनी बोर्डका पदाधिकारी समेतले स्थानीयको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन्।
स्थानीयले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स ६, लोडर दुई, ६ वटा मोटरसाइकल अफिस, तथा टेबुल कुर्सी समेत तोडफोड गरेका जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रुग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरूलाई उपेक्षा गरेको गतलाङ्बासीको भनाइ छ।
साउन ३०, २०७९ सोमबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।