अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो- शैक्षिक प्रमाणपत्र बल्खुबाट क्याम्पस-क्याम्पसमै पठाऊ

अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो- शैक्षिक प्रमाणपत्र बल्खुबाट क्याम्पस-क्याम्पसमै पठाऊ

काठमाडौं : माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले बल्खुबाट दिंदै आएको प्रमाणपत्र स्थानीय कलेजमै पठाउन माग गरेको छ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै बल्खुबाट नभई हरेक जिल्लामा विकेन्द्रित रुपमा क्याम्पसहरुबाट नै प्रमाणपत्र वितरण गरिनुपर्ने माग गरेको हो।

यसअघि त्रिवि उपकुलपति कार्यालयलाई ज्ञापन दिंदै माग गरिएको विषयलाई माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले यस्तो माग दोहोर्याएको हो।

महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको, स्थानीय रुपमा शैक्षिक प्रमाणपत्र वितरणको प्रक्रिया अघि नबढाएको भन्दै अखिल (क्रान्तिकारी) ले माग अघि सारेको हो।

प्रश्नपत्र गैरजिम्मेबार रुपमा दोहोर्याएको विषयमा पनि उसले छानविन र दोषीलाई सार्वजनिक गर्न तथा दण्डित गर्न माग गरेको छ।

'दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?,' अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ,' सत्यतथ्य बाहिर ल्याउन गठित समितिले कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन?'

आज छानविन समितिमाथि नै छानविन गर्नुपर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको छ भन्दै उक्त संगठनले यसअघि आफूहरुले बुझाएको १८ बुँदे मागबारे पनि ध्यानाकर्षण गराएको छ।

साउन २९, २०७९ आइतबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।