तीनपिप्लेमा अवैध गाडीले फोहोर फाल्दा पुन: अवरोध

तीनपिप्लेमा अवैध गाडीले फोहोर फाल्दा पुन: अवरोध

काठमाडौं : महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको फोहोर उठ्न थालेको घोषणा गरेको २४ घण्टा नबित्दै पुन: अवरोध सिर्जना भएको छ।

फोहोर फाल्ने अवैध गाडीले काठमाडौंको तीनपिप्ले नजिकै खोलामा फोहोर फालेपछि आइतबार बिहानैदेखि अवरोध भएको हो। 

काठमाडौंमा अत्यधिक मात्रामा फोहोर थुप्रिएपछि बालुवा र गिठी बोक्ने गाडीहरुले समेत अनुमतिविना फोहोर उठाइरहेका छन्। त्यसमध्ये कालोपुल र रातोपुल क्षेत्रको फोहोर उठाउन निजी क्षेत्रले पठाएको गाडीले सो जिम्मा दिएको थियो।

प्रदेश नम्बर ३ ००३ बा १२४६ नम्बरको बालुवा बोक्ने गाडीले बीच बाटोमै फोहोर फालेको थियो। सो गाडीका चालक सोम बस्नेतलाई पक्राउ गरी हाल काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।  

बीच बाटोमै बालुवा बोक्ने गाडीले फोहोर फालेपछि त्यहाँ पुन: फोहोर फाल्न अवरोध आएको काठमाडौ महानगरपालिकाका नगर प्रहरी पूर्णचन्द्र भट्टले जानकारी दिए। 

'मुड्खु तीनपिप्लेस्थित खोला नजिकै शनिबार राति ९ बजे बाटोमै जानाजान फोहोर फालिदिएछ। राति फालिएको फोहोर स्थानीयले आज बिहान मात्र देखेछन्,' उनले भने, 'त्यसयता स्थानीयले बिहानैदेखि फोहोरको गाडीहरु बन्चरे डाँडा ल्याण्डफिल साइट जान दिएका छैनन्। गाडीहरुको त्यहीँ लाम लागिरहेको छ।'

त्यसरी फोहोर फाल्ने सवारी चालक पत्ता लगाएर जरिवानासमेत तिराइसकेको उनले बताए। 'बिहानैदेखिको अनुसन्धानपश्चात् त्यसरी फोहोर फाल्ने गाडी चालक पत्ता लागिसकेको छ। ती चालकलाई फोहोर उठाउन लगाएर २५ हजार जरिवानासमेत गराइएको छ,' उनले भने।

साउन २९, २०७९ आइतबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।