नातावादको विरोध गर्दै ओलीले भने- 'मेरो भाइ १० कठ्ठा जमीनमा हलो जोतेर बस्छ'

नातावादको विरोध गर्दै ओलीले भने- 'मेरो भाइ १० कठ्ठा जमीनमा हलो जोतेर बस्छ'

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा नातावाद र परिवारवादको विरोध गरेका छन्। उनले घुमाउरो शैलीमा अरू दलका शीर्ष नेताले आफ्ना मान्छेलाई दिएको अवसरको विरोध गरेका हुन्।

आज युवाहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा उनले योगदानबिना पदमा पुर्याउनु गलत भएको बताए। उनले आफ्ना आफन्त सक्षम भए पनि अहिलेसम्म राजनीतिमा नल्याएको र कुनै लाभको पद नदिएको दावी गरे।

ओलीले भने, ‘मेरो भाइ छ आफ्नै, उसले राजदूत, एमडी हुन बल गरेको छ? अहिले पनि १० कठ्ठा जमीनमा हलो जोतेर बस्छ। वडा कमिटीमा संगठित छ।'

ओलीका अनुसार उनी भद्रपुर नगरपालिकाको वडा कमिटीमा छन्। ओलीले दावी गरेर भने- 'मेरो भाइले संसद्मा उम्मेदवारी पाउनेवाला छैन। तपाईंहरू ढुक्क हुनुस्।'

भाइले गरेको योगदानअनुसार संसद्को टिकट नपाउने र सोही वडा कमिटीको जिम्मेवारी पाउने ओलीले बताए।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिवारका सदस्यलाई राजनीतिक तथा लाभको पदमा पुर्याएको बारे ओलीले घुमाउरो तरिकाले कटाक्ष गरेका हुन्।

साउन २९, २०७९ आइतबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।