राप्रपाको 'यस/नो'मा निर्भर केपी ओलीको झापा- ५

०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट २८ हजार ८४२ मतान्तरले आफ्ना प्रतिद्वन्द्वीलाई हराए। ओलीले ५७ हजार १३९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खग्रेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याए।
झापा- ५ मा दमक नगरपालिका, कमल गाउँपालिकाका तथा गौरादह नगरपालिका- ९ बाहेकका वडा र गौरीगञ्ज गाउँपालिका- १ र २ बाहेकका वडाहरू पर्छन्।
यो निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमालेलाई ४० हजार ३६१ मत आएको थियो। कांग्रेसलाई २२ हजार २२ मत तथा माओवादी केन्द्रले १० हजार ७७८ मत पाएको थियो।
गौरादह नगरपालिकामा एमाले नौ हजार ६७२, कांग्रेस आठ हजार ४२१, माओवादी एक हजार ७८६ र राप्रपाले एक हजार २७७ मत ल्याए। गौरीगञ्ज गाउँपालिकामा एमालेले दुई हजार ५४६, कांग्रेसले दुई हजार ३६, माओवादी एक हजार ५०१ र राप्रपाले एक हजार २६९ मत ल्याए।
कमल गाउँपालिकामा एमाले १० हजार १४२, कांग्रेस ६ हजार ४४१, माओवादी दुई हजार ८३० र राप्रापाले दुई हजार ३०५ मत ल्याए। दमक नगरपालिकामा एमाले १८ हजार २६१, कांग्रेस ६ हजार ९८३, माओवादी चार हजार ६६१ र राप्रपाले ८७ मत ल्याए।
एकीकृत समाजवादीले ल्याएको दुई हजार १५ मत मत जोड्दा सत्ता गठबन्धनको पक्षमा ३४ हजार ८१५ मत पुग्छ। राप्रपाको आठ हजार ३५३ मत छ।
राप्रपा पनि सत्ता गठबन्धनमा पुगेको खण्डमा गठबन्धनसँग ४३ हजार १५८ मत हुन्छ। यो अवस्थामा एमाले एक्लैको भन्दा गठबन्धन करिब दुई हजार मतले अगाडि हुनेछ। राप्रपा र अन्य दलका मत पनि गठबन्धनमा गएमा एमालेलाई गाह्रो हुने देखिन्छ।
यसपटक पनि ओली र लिङ्देनको ‘गिभ एण्ड टेक’ को रणनीति बन्यो भने गठबन्धनले ओलीलाई हराउन सहज देखिँदैन। यस्तो अवस्थामा ओलीको मत ४९ हजार ७९ पुग्छ।
अन्य साना दलको करिब तीन हजार मत तान्न सकेमा एमालेको मत ४३ हजार ३११ पुग्छ। यो राप्रपासहितको सत्ता गठबन्धन भन्दा ३५० बढी मत हुन आउँछ। यस्तो अवस्थामा मात्र कडा प्रतिस्पर्धा हुने देखिन्छ।
हालसम्मको अंकगणितमा राप्रपाको 'यस अथवा नो'ले एमाले अध्यक्ष ओलीको संसद्सम्मको यात्रा प्रभावित गर्ने देखिएको छ। एमाले अध्यक्ष ओली 'हेभी वेट्' नेता भएकाले गठबन्धनले कस्तो उम्मेदवार उठाउँछ त्यसमा समेत मत विभाजन निर्भर हुनसक्छ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको तीन हजार पाँच सय हाराहारीको मत निर्णायक बन्नसक्छ। वडामा बलियो देखिएको एमालेलाई राप्रपा गठबन्धनमा नमिसिन सक्ने र वा रप्रापासँगै गठबन्धन हुनसक्छ। जसको लागि नेतृत्त्व तहमा छलफल भइरहेको छ।
आरजुलाई सांसद बनाउन देउवाले डडेल्धुरा छाड्लान् !
निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई चितवनमा पनि धोका हुने डर
०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट विजयी ओलीले राप्रपाको साथ पाएका थिए। एमालेले झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेको थियो। ०७४ सालमा झैँ यसपटक पनि ओली र लिङ्देनको ‘गिभ एण्ड टेक’ को रणनीति बन्यो भने गठबन्धनले ओलीलाई हराउन सहज देखिँदैन। यस्तो अवस्थामा ओलीको मत ४९ हजार ७९ पुग्छ।
२०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा- ६ बाट निर्वाचित ओली २०६४ सालको संविधान सभा चुनावमा झापा- ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधान सभा चुनावमा जिते। ६४ को संविधान सभा निर्वाचनमा ओली तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भए। लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीले १४ हजार ९५९ मत ल्याएका थिए।
झापामा ओलीको मतदाता नामावली समेत छैन। उनी भक्तपुर बालकोटमा बस्दै आएका छन्। मतदाता नामावली भक्तपुरमै छ।
विगतदेखि लड्दै आएको र आफ्नो 'सेफ जोन' भएका कारण ओलीले झापा छोड्न चाहँदैनन्। उनले झापा क्षेत्र नम्बर ५ लाई नै सुरक्षित ठानेको देखिन्छ।
साउन २९, २०७९ आइतबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।