'अबको प्रधानमन्त्री तपाईं हो?' भन्ने प्रश्नमा रामचन्द्र पौडेलको जवाफ, 'घोषणा गर्ने समय भएको छैन'

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन कर र डर दुवै भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने बताए।
उनले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्। यसैले गठबन्धन कर पनि हो डर पनि हो।”
अहिलेको आवश्यकता मिलेर जानुपर्ने, तालमेल गरेर जानुपर्ने रहेको उनको भनाइ थियो। गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको पनि उनले बताए। उनले भने, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ।”
यद्यपि, को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दावी हुनु स्वाभाविक रहेको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो।
यस्तै उनलाई 'आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईं हो?' भनेर पनि प्रश्न गरिएको थियो। उनले जवाफमा भने, “यो निर्णय लिने जिम्मा पार्टीको हो। अहिले नै घोषणा गर्ने समय भएको छैन।”
साउन २९, २०७९ आइतबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।