तनहुँका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँः कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ। महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो।
सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरेका छन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ।
सेनेटरी प्याडका अभावमा समस्या हुँदै आएको थाहा पाएपछि सञ्जालका सदस्यबाट रकम सङ्कलन गरी प्याड सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिइन्।
“विभिन्न अपराधमा सजाय भोगेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले मानवअधिकारको आधारभूत आवश्यकता पाउनुपर्छ, सेनेटरी प्याड नभएको विभिन्न माध्यमबाट जानकारीमा आएपछि सहयोग गरेका हौँ”, उनले भनिन्।
कारागारमा हाल १२ जना महिला कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए। गत फागुनदेखि तनहुँमा महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दी राख्न थालिएको छ।
“भर्खरै मात्र महिला कैदीबन्दी गृह सञ्चालनमा आएकाले हाम्रो पनि यसतर्फ ध्यान जान सकिरहेको थिएन”, उनले भने, “सेनेटरी प्याडका विषयमा विभिन्न माध्यमबाट प्रचार–प्रसारमा आएपछि अन्य सङ्घसंस्थाले पनि यसमा चासो देखाउनुभएको छ।”
साउन २९, २०७९ आइतबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।