कास्कीमा ११ हजार मतदाता थपिए

कास्कीः आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि सुरु गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन्।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार बाहिरी जिल्लाका समेत महिला एक हजार ६२९ र पुरुष दुई हजार २३१ गरी तीन हजार ८६० जनाको नाम दर्ता भएको छ।
उनले भने, “निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ। अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौ, अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ।”
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता रहेका थिए। सरकारले स्थानीय तहको निर्वाचनपछि असारदेखी नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो।
प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन्।
दलहरूले आन्तरिक भेला, प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गरेका हुन्।
साउन २९, २०७९ आइतबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।