दुर्घटनामा घाइते भएका प्रहरी जवानको मृत्यु

दुर्घटनामा घाइते भएका प्रहरी जवानको मृत्यु

काठमाडौँ : रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख डिएसपी प्रकाश डाँगी चढेको गाडी बिहान ११ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएर उपचारमा रहेका प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने ठाउँमा लु १ झ ६६० नम्बरको गाडी दुर्घटना भएको थियो।

टाउकोमा चोट लागेका पुनको  बाँके कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो।

दुर्घटनामा घाइते  डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी डिएसपी रवीन्द्र श्रेष्ठ, गाडी चालक प्रहरी हवलदार कुमार सिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती मगर उपचारमा छन्।

शनिबार डिएसपी डाँगी र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवार तकसेराको इलाका प्रहरी कार्यालयको निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको थियो।

घाइतेलाई पुथा उत्तरगगा गाउँपालिका-११ डिखिउको हेलिप्याडमा ल्याएर नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगिएको थियो। 

साउन २८, २०७९ शनिबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।