कांग्रेस संस्थापन इतर समूहले संसदीय निर्वाचनमा ४० प्रतिशत सिट माग्यो, नदिए विद्रोह

कांग्रेस संस्थापन इतर समूहले संसदीय निर्वाचनमा ४० प्रतिशत सिट माग्यो, नदिए विद्रोह

काठमाडौँ :  संसदीय निर्वाचनमा टिकट बाँड्दा पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई च्याप्ने आशङ्कामा पार्टीभित्रको संस्थापन इतर समूहले ४० प्रतिशत माग गरेका छन्।

बाम गठबन्धनको आडमा सभापति देउवाले टिकट वितरणबाटै पेल्न सक्ने भन्दै उनीहरूले यस्तो भए विद्रोह गर्नेसम्मको चेतावनी दिएका छन्।

पार्टीको कार्यसम्पादन समिति अगाडि बसेको असन्तुष्ट समूहको बैठक अनि केन्द्रीय कार्यसम्पादनको बैठक दुबैतिर संस्थापन इतरका नेताहरूले एउटै शङ्का गरे।
पार्टी बैठकपछि कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरण गर्दा मनलाग्दी हुन नहुने बताएका थिए। 

केसीले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै भने‘एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस्। यसले परिणाम गम्भीर बनाउन सक्छ। मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो, त्यो लक्ष्य पूरा हुँदैन।’

पार्टीको असन्तुष्ट पक्षको भेलाले देउवाले टिकटमा एकलौटी गरे अन्तरसंघर्षको चेतावनी दिएको छ। उनीहरूले पार्टीको भागमा पर्ने सिटमा ४०% आफ्नो समूहलाई चाहिने माग समेत गरे।

गुरुराज घिमिरेले सभापतिमा निर्वाचित भएको आठ महिना बित्दा पनि प्रतिस्पर्धी समूहलाई कुनै निर्णय प्रक्रियामा नसमेटेकाले शङ्का उब्जिएको भन्दै आफ्नो समूहलाई ४०% सिट चाहिने बताए।

उनले सङ्घीय निर्वाचनमा पनि यही अवस्था आउन सक्ने सङ्केत देखिएको बताए ।

साउन २८, २०७९ शनिबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।