रुकुमगाड विद्युत् आयोजनाको ८९ प्रतिशत काम सम्पन्न

रुकुमगाड विद्युत् आयोजनाको ८९ प्रतिशत काम सम्पन्न
साङ्केतिक तस्बिर

काठमाडौंः रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ। सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको रुकुमगाड विद्युत् आयोजनाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदैछ।

आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ। अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ।

प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए। उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ। विद्युत्‌गृह निर्माणको काम पनि अन्तिम चरणमा छ।

एक अर्ब ३० करोड लागतमा सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए।

आयोजनाले पूर्णता पाएपछि रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए।

साउन २८, २०७९ शनिबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।