महाकाली र कालीगण्डकी नदीमा बगेर तीन जना बेपत्ता

काठमाडौंः महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा उनीहरू महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका थिए। प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ।
किशोरी बेपत्ता भएको खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ। घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन्।
यस्तै कालीगण्डकी नदीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन्। तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्कालाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि उनलाई फेला पार्न सकिएको छैन।
साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
साउन २८, २०७९ शनिबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।