भन्सार सीमा क्षेत्रबाहिर जाँच केन्द्र हटाउन अदालतको आदेश

काठमाडौंः उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्रबाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो।
झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरूपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ।
जोरसिमलको जाँच केन्द्र गैरकानूनी भएको हुँदा त्यसलाई हटाइपाऊँ भनी सन्दीप खनालले मेची भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको राजस्व तथा भन्सार सुरक्षा गुल्मलाई विपक्षी बनाई हालै उच्च अदालत इलाम इजलासमा रिट निवेदन दर्ता गराएका थिए।
रिटमाथिको पहिलो सुनुवाइ गर्दै अदालतले गत साउन १९ गते जाँच केन्द्र हटाउन अन्तरिम आदेश जारी गरेको थियो। सो अन्तरिम आदेशलाई बिहीबारको फैसलाले सदर गरेको रिट निवेदकको तर्फबाट बहस पैरवी गरेका अधिवक्ता अशोक पोखरेलले बताए।
निवेदकको तर्फबाट पोखरेल र अधिवक्ता सुरज खत्रीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय इलामका न्यायाधिवक्ता तेजबहादुर सिञ्जाली मगरले बहस गरेका थिए।
साउन २७, २०७९ शुक्रबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।