निर्वाचनमा हारेका पाँचै दलका शीर्ष नेतृत्व सुरक्षित हुने गरी सिट बाँड्न कार्यदलमा सहमति

काठमाडौँ : पाँच दलीय गठबन्धनको कार्यदलमा गत संसदीय निर्वाचनमा पराजित शीर्ष नेताहरूलाई समेत जिताउने गरी सिट बाँडफाँड गर्ने सहमति भएको छ।
कार्यदलको दोस्रो बैठकमा सिट बाँडफाँडको आधारबारे छलफल हुँदा यस्तो सहमति भएको हो। विशेषतः गत निर्वाचनमा पराजित नेपाली कांग्रेसका नेताको सिट सुरक्षित गर्न यस्तो मापदण्डमा सैद्धान्तिक सहमति गरेको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता गत निर्वाचनमा पराजित भएका थिए। जनता समाजवादीका समानुपातिक सूचिका नेताहरू प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन्।
सिट बाँड्न पराजित भएका शीर्ष नेताहरूले पाएको मत र हालै सम्पन्न स्थानीय तहको पार्टीको मतलाई हेर्ने सहमति भएको छ।
शीर्ष नेताहरूको सिट सुरक्षित गरेपछि अन्य सिट बाँडफाँडको मोडालिटीमा समेत छलफल भएको कार्यदलका एक सदस्यले बताए।
सिट बाँड्दा २०७४ को निर्वाचनलाई मुख्य आधार मान्ने सहमति भएको छ।
'यसमा प्रत्यक्ष र समानुपातिक दुवैको मतलाई आधार मान्न कार्यदलमा सहमति भएको छ,' ती सदस्यले भने '०७९ को स्थानीय तह निर्वाचन, ०७४ र ०७९ मा गठबन्धनबाहेकका दलको अवस्था समेत हेरिने छ।'
एकीकृत समाजवादीबाट कार्यदलमा रहेका सदस्यहरूले २०७४ को मत हेर्दा एमालेको समेत हेर्नुपर्ने र त्यसको आधारमा आफ्नो दलको सिट तय हुनुपर्ने माग राखेका थिए।
आफूहरू त्यो समयमा एमालेमा रहेकाले एकीकृत समाजवादीको सिट निर्धारणको आधार एमालेले पाएको मत हेर्नुपर्ने उनीहरूको माग छ।
तर कार्यदलका अधिकांश अहिले एकीकृत समाजवादीमा रहेका प्रत्यक्षतर्फका सांसद र सांसद उम्मेदवार भएर पराजित भएकाहरूको मतलाई आधार मान्नुपर्ने पक्षमा छन्।
साउन २७, २०७९ शुक्रबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।