आज जनै पूर्णिमा, रक्षा बन्धन, राखी पर्व र गाईजात्रा

काठमाडौंः आज श्रावणशुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व रहेको छ। हिन्दू धर्मावलम्बीहरूले आजको दिन बिहानै नदी, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट हातको नाडीमा डोरो (रक्षासूत्र) बाध्ने चलन रहेको छ।
यस्तै आजको दिन तागाधारी पुरुषहरूले जनै फेर्ने चलन समेत रहेको छ।
आजको दिनलाई तराई क्षेत्रमा राखी पर्वको रूपमा पनि मनाइन्छ। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधेर दीर्घायुको कामना गर्छन्। यस्तै दाजुभाईले दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन्। यस दिन दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न भोजन गराउने समेत गर्छन्।
केही वर्षअघिसम्म तराईमा मात्र सीमित यो पर्व हाल देशका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ।
यसैगरी आज क्वाटी खाने चलन पनि रहेको छ। भिजाएर राखिएको विभिन्न गेडागुडीको झोल बनाएर खाने गरिन्छ। यसैले यस दिनलाई क्वाटी पूर्णिमा वा क्वाटी खाने दिन पनि भनिन्छ।
यसका साथै आज गाईजात्रा पर्व पनि परेको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्वमा आफ्ना मृत पितृको सम्झनामा गरिन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराउने चलन छ।
आज यी विभिन्न पर्वहरू परेकाले देशभर सार्वजनिक बिदा पनि दिइएको छ।
साउन २७, २०७९ शुक्रबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।