अल्मुताइरीसँगको विवाद कायमै, एन्फाले एक खेलको लागि बनायो नयाँ प्रशिक्षक

अल्मुताइरीसँगको विवाद कायमै, एन्फाले एक खेलको लागि बनायो नयाँ प्रशिक्षक

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयमा निर्णय गर्न सकेन।

बिहीबार बसेको कार्यसमिति बैठकले विवादमा प्रवेशै नगरी असोज ११ हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि  प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको छ।

एम्फा अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएपछि बसेको
पहिलो बैठकले अल्मुताइरीको विषयमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको सुझावलाई प्रशिक्षक र कतार फुटबल सङ्घसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिएको थियो।

महासचिव किरण राईले कतार फुटबल सङ्घ र अल्मुताइरीलाई पत्र पनि पठाएका थिए। तै पनि समस्या उस्तै छ। अल्मुताइरी बिदामा छन्। विवाद समाधानको पहलभन्दा बैठक तत्कालीन समाधान खोज्दै हुमागाईँलाई अस्थायी प्रशिक्षक बनाउने निर्णय गर्यो।बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेला नेपालमा हुनेछ । 

पूर्व अध्यक्ष नरेन्द्र मानार्थ अध्यक्ष
एन्फा मुख्यालयमा बसेको कार्यसमितिको बैठकले नरेन्द्र  श्रेष्ठलाई मानार्थ अध्यक्षमा नियुक्त गर्यो। मानार्थ उपाध्यक्षमा किशोर राई नियुक्त गरेको छ। निर्णय आगामी साधारण सभामा अनुमोदनका लागि पेस गर्ने निर्णय भएको छ।

बैठकले सुरेश शाहलाई प्रवक्तामा नियुक्त गरेको छ भने अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाण्डेको जिम्मेवारी हेरफेर गरेर  एन्फा अध्यक्ष नेम्वाङको प्रमुख सल्लाहकार बनाएको छ।

साउन २६, २०७९ बिहीबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।