काठमाडौं महानगरको बैठकमा चर्काचर्की : 'फोहोर कि बागमतीमा बगाऔं, कि टुँडिखेलमा थुपारौं

काठमाडौं- काठमाडौं महानगरपालिकाको बिहीबारको बैठकमा चर्चाचर्की भएको छ। फोहोर व्यवस्थापनमा केन्द्रित बैठकमा आज रातभरिमा जसरी पनि फोहोर उठाइसक्नुपर्ने आवाज उठेको छ।
शुक्रबारदेखि गाईजात्रा सुरु हुने भएकोले जसरी भए पनि राति नै फोहोरको अस्थायी व्यवस्थापन गर्नुपर्ने माग वडाध्यक्षहरुले राखेका छन्।
मेयर बालेन शाहले राखेका अजेन्डालाई पन्छाउँदै पहिले फोहोर व्यवस्थापनको विषय टुंग्याउनुपर्ने बैठकमा बोल्ने अधिकांशले बताएका थिए। त्यसपछि छलफल फोहोर व्यवस्थापनमा केन्द्रित भएको हो।
वडाध्यक्षहरुले मेयर बालेन शाहले टिमवर्कमा व्यवस्थापन नभएमा टुँडिखेल लगेर फाल्ने चेतावनी समेत दिए।
वडा नम्बर ३० वडाध्यक्ष दलबहादुर कार्कीले संघीय सरकारप्रति आक्रोश पोख्दै काठमाडौंबासीलाई नर्कमा राख्न खोजिएको आरोप लगाए।
उनले फोहोर बागमतीमा फाल्ने प्रस्ताव समेत राखे। कार्कीले भने, 'बञ्चरेडाँडा दिँदैन, सिसडोल पनि दिँदैन। अब शंखमुलदेखि टेकुसम्म बागमतीमा फालौं। त्यहाँ पनि नभए टुँडिखेलमा लगेर थुपारौं।'
१० नम्बरका वडाअध्यक्ष रामकुमार केसीले मेयर एक्लै मन्त्रालय जाने, सिसडोल जाने तर टिममा विश्वास नगर्ने बताए।
बैठकमा उपमेयर सुनिता डंगोलले भने मध्यमार्गी विचार राखेकी थिइन्। उनले भनिन्, 'भोलिसम्म अल्पकालीन रुपमै बाटो देखाउन नसक्ने हो भने त्यसको भागिदार हामी नै हुनुपर्छ। हाम्रो ध्यान गएको छ। प्राथमिकतामै राख्दा पनि समस्या आइरहेको छ।'
साउन २६, २०७९ बिहीबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।