सप्तरीमा डेढ महिनाको अवधिमा नौ हजार मतदाता थपिए

सप्तरीः जिल्लामा नौ हजार ११४ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार ८३९ पुरुष र चार हजार २७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए।
निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वाचन आयोग पठाउने जिल्ला निर्वाचन अधिकारी जोशीले बताए। निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ।
स्थानीय तह निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए। जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह छन्।
सरकारले मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै यही साउन २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगन भएको छ।
साउन २६, २०७९ बिहीबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।