मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

काठमाडौंः काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ। बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ।
सांसद महेश बस्नेत र बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिन्। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपाया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए।
यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए।
खोला किनारामा रहेको काठमाडौंतर्फ पाँच घर बगाएको छ। बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली राति नै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए।
साउन २६, २०७९ बिहीबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।