बाढी-पहिरोले नुवाकोट र रसुवाका सडकमा क्षति, गोसाइकुण्ड जाने पर्यटक प्रभावित

काठमाडौं : रातभरको अविरल वर्षाका कारण गएको पहिरो र बाढीले नुवाकोट तथा रसुवाका सडकमा क्षति पुगेको छ। बाढी तथा पहिरोले पुल तथा सडक भत्किँदा यातायात अवरुद्ध भएको छ।
वर्षासहितको बाढी तथा पहिरोले किसानको धान खेतसमेत बगाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५, बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग पहिरोले भत्काउँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ। पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक समेत प्रभावित भएको प्रहरीको भनाइ छ।
नुवाकोटको तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको छ।
सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
साउन २५, २०७९ बुधबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।