भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक

भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दावी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ।

अद्यावधिक कार्यक्रम अनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दावी विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ।

उक्त प्रक्रिया अन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था छ। मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आगामी मङ्सिर ४ गते हुने घोषणा भएपछि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलन कार्य साउन २० गतेदेखि स्थगन भएको थियो।

साउन २५, २०७९ बुधबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।