विवेकशील साझाका सदस्यलाई मिश्रको सन्देश : नयाँ नेतृत्व आएन, मेरै अध्यक्षतामा आयोग जाऊँ

विवेकशील साझाका सदस्यलाई मिश्रको सन्देश : नयाँ नेतृत्व आएन, मेरै अध्यक्षतामा आयोग जाऊँ

काठमाडौँ : स्थानीय तह निर्वाचनको नतिजापछि अध्यक्ष पदबाट राजीनामा दिएका विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले संसदीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आफ्नै अध्यक्षतामा पार्टी दर्ता गर्न सन्देश पठाएका छन्।

आफूले राजीनामा दिएको डेढ महिनामा पनि नयाँ नेतृत्व चयन गरेर आफ्नो राजीनामा स्वीकृत नगरेको र आयोगले संसदीय निर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न दिएको समय सकिन लागेको भन्दै आफ्नै नेतृत्वमा आयोगमा दल दर्तामा जान आग्रह गरेका हुन्।

'कानुनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन' उनले लेखेका छन्' अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व निर्वाचन आयोगले अद्यावधिक गरेपछि मात्र उसको/उनको हस्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन।'

उनले दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुने उल्लेख गरेका छन्।

उनले पठाएको सन्देश
रवीन्द्र मिश्रको अत्यन्त जरुरी अनुरोध!

आदरणीय साथीहरू,
मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झन्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन।

यस्तो परिस्थितिमा सङ्घीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ। दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ।

दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित सर्तहरू पुरा गर्नु पर्छ। पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व निर्वाचन आयोगले अद्यावधिक गरेपछि मात्र उसको/उनको हस्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन।

कानुनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भीरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१। अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरुन्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपत्कालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हस्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हस्ताक्षर मागिने छ।

२। यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व (अध्यक्ष) का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोलि बुधवार नै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु। राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भीर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।

यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

स-श्रद्धा
रवीन्द्र मिश्र

साउन २५, २०७९ बुधबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।