वर्षाले काँडाघारी क्षेत्र डुबानमा, प्रहरी कार्यालयमा पनि क्षति

वर्षाले काँडाघारी क्षेत्र डुबानमा, प्रहरी कार्यालयमा पनि क्षति

काठमाडौं : रातभरको वर्षाले काठमाडौंको काँडाघारी क्षेत्र डुबानमा परेको छ। अविरल वर्षापछि आएको बाढीले काँडाघारीमा रहेको प्रहरी प्रभागको भवन समेत डुबानमा परेको छ।

प्रहरी कार्यालय भवनको पहिलो तला पूरै डुबाएको र भान्सामा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा जनाइएको छ।

कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीन वटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।

कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।

हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुबानमा परेका छन्। बाढीले सुकुम्बासी टोलको दुइटा टहरा भत्केको प्रहरीले जनाएको छ।

साउन २५, २०७९ बुधबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।