फोहोर बोक्ने गाडी तोडफोड गर्नेलाई कडा कारबाही : मेयर बालेन

फोहोर बोक्ने गाडी तोडफोड गर्नेलाई कडा कारबाही : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्ने गाडी तोडफोड गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

हिजो राति फोहोर लिएर बञ्चरे डाँडा गएका दर्जन गाडी तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउने उनले बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले भनेका छन्, 'फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। तर फोहोर बोक्ने गाडी तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन महानगर स्पष्ट छ।'

यो घटनालाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा लिएको बताउँदै गाडी तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउने समेत चेतावनी दिए। 'यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ,' उनले भने।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने मेयर बालेनको भनाइ छ।

साउन २४, २०७९ मंगलबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।