क्रिप्टो कारोबारको अभियोगमा पुर्पक्षका लागि जेल गए विशाल सिमेन्टका पूर्व सञ्चालक श्रेष्ठ

काठमाडौँ : क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोग लागेका व्यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालत न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई मङ्गलवार पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
विशाल सिमेन्टका पूर्व सञ्चालक समेत रहेका उनीमाथि क्रिप्टो करेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै ४८ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको थियो।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठविरुद्ध बिगोको ३ गुणसम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत माग गरेर जारी भएको अभियोग पत्रमा थुनछेकको बहस सक्काउँदै मङ्गलवार आदेश आएको हो। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
नेपालमा क्रिफ्टो करेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैङ्कले अवैध भनेको छ। उनीमाथि क्रिप्टो कारोबारसँगै नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोग समेत लागेको थियो।
उनको साथबाट बरामद भएका २ थान मोबाइल तथा २ थान ल्यापटप अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गर्दा उनले क्रिप्टो कारोबार गरेको प्रमाणहरू फेला परेको सरकारी पक्षले दाबी गरेको थियो।
श्रेष्ठको कमनवेल्थ बैङ्क अफ अस्ट्रेलियामा १ लाख ९४ हजार २ सय ८५.५६ डलर तथा रोयल बैङ्क अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१.३८ डलर कारोबार भएको प्रमाण प्रहरीले अनुसन्धानमा सङ्कलन गरेको थियो।
साउन २४, २०७९ मंगलबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।