पैसा फ्याँकेर निर्वाचन जित्ने परिपाटी अन्त्य गरौं : दुर्गा पौडेल

काठमाडौं : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पैसा फ्याँकेर निर्वाचन जित्ने परिपाटीका कारण महिलाले चुनाव लड्न डराउनुपरेको बताएकी छिन्। पैसा फ्याँकेर चुनाव जित्ने परिपाटी नहटाएसम्म संसद्मा महिला सहभागिता बढ्न नसक्ने उनको तर्क छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भनिन्, ‘फलाम तातेकै बेलामा पिट्नुपर्छ। अहिले निर्वाचनको कानुन बनाउने समय भएकाले यो कानुनमा बहस हुनुपर्छ र विभेद हटाउनुपर्छ।’
उनी माओवादीकी सांसद अमृता थापाले राखेको महिलाको प्रतिनिधित्व सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा बोल्दै थिइन्।
पौडेलले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखिएको टिप्पणी गरिन्। महिला सांसदहरुलाई समानुपातिकमा राख्ने अनि विभेद हुने कार्य भएको भन्दै अब कानुन नै बनाएर जानुपर्ने उनको भनाइ थियो।
साउन २४, २०७९ मंगलबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।