नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो, शरीरभन्दा तीन गुणा लामो पुच्छर

नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो, शरीरभन्दा तीन गुणा लामो पुच्छर

काठमाडौं: नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। मोरङको मिक्लाजुङ गाउँपालिकाको चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा नयाँ प्रजातिको छेपारो फेला परेको हो।

यसको स्थानीय नाम ‘सिक्किम छेपारो’ र वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो। “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवार समेत ६ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति छन्। नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ।

यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो। दोस्रोपटक पनि एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो।

यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए। नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भूभाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए।

यसको शरीरको माथिल्लो भागको रङ्ग खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो हुन्छ। यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ।

यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो। नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ।

नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आईयूसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ।

साउन २४, २०७९ मंगलबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।