टान निर्वाचन: कांग्रेस समर्थित बाँस्कोटाको नेतृत्त्वमा सहकार्य गर्न एमाले र एकीकृत समाजवादी तयार

टान निर्वाचन: कांग्रेस समर्थित बाँस्कोटाको नेतृत्त्वमा सहकार्य गर्न एमाले र एकीकृत समाजवादी तयार

काठमाडौंः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाको नेतृत्त्वमा नयाँ समीकरण बनेको छ। निर्वाचनमा नेपाली कांग्रेस समर्थित व्यवसायी बाँस्तोलाको नेतृत्त्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित व्यवसायीहरू सहकार्य गर्न तयार भएका छन्।

कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो।

टानको नयाँ नेतृत्त्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिए। यस्तै बाँस्तोला नेतृत्त्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ।

अध्यक्ष महतले टान नेतृत्त्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताए। उनले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गरे।

टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।

यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ। टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन्।

साउन २४, २०७९ मंगलबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।