आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज बिहान ११ बजे ११औं अधिवेशनको ५२औं बैठक बस्दैछ।

आजको बैठकको विभिन्न कार्यसूची रहेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आज सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

यस्तै सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हरेफेर गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नेछन्।

सांसद विन्दा पाण्डेले “दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकोले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले” भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको ध्यानाकर्षण गराउने छिन्।

यसका साथै सांसद अमृता थापाले “नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताको लागि संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कानून संशोधनको एकीकृत मस्यौदा तयारीको लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरकाले प्रतिनिधि सभामा समेत यस विषयमा छलफल गरी संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला
उम्मेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्ने लगायतका सुझावहरु दिन अत्यावश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै लक्ष्मी परियारसहित ११ जना सांसदहरूले उक्त प्रस्तावको समर्थन गर्नेछन्।

साउन २४, २०७९ मंगलबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।