पाँच दलीय गठबन्धनलाई आठ दलीय बनाउने सत्ताघटकको प्रयास, लोसपा,बाबुराम र बामदेवसँग छलफल

पाँच दलीय गठबन्धनलाई आठ दलीय बनाउने सत्ताघटकको प्रयास, लोसपा,बाबुराम र बामदेवसँग छलफल

काठमाडौँ : दुवै तहको संसदीय निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएको सत्ताधारी दलहरूले गठबन्धन बाहिर रहेका २ दललाई समेत समेट्न संवाद अगाडि बढाएका छन्।

महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र बाबुराम भट्टराइको नेतृत्वमा हालै गठन भएको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धन सहभागी गराउन पाँच दलका शीर्ष नेताहरूले नै संवाद अगाडि बढाएको सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले पुष्टि गरे।

उनले अहिले लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन शीर्ष तहमा संवाद भइरहेको जानकारी दिएका हुन्। पाँच दलीय गठबन्धनमा रहेका दलहरूबिच आगामी निर्वाचनमा सिट बाँडफाँडमा सहमति जुटाउन बनेको कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसको पुष्टि गरेका हुन्।

उनले डा बाबुराम भट्टराइको नेतृत्वको पार्टीबारे भने केही खुलाएनन्। बाबुरामको पार्टीमा अहिले उनीसहित २ सांसद छन्। दुवै सांसदले वर्तमान सरकारलाई समर्थन गरेका छन् तर औपचारिक रूपमा सत्ताधारी गठबन्धनमा सहभागी भएको छैन।

लोसपा र नेपाल समाजवादी दुवै जनता समाजवादी पार्टीबाट विभाजित बनेर बनेको दल हो। दुवै दललाई गठबन्धनमा सहभागी गराउँदा उपेन्द्र यादवले असहमति जनाउने जोखिम भने देखिन्छ नै।

स्थानीय तहको निर्वाचनमा समेत लोसपासँग गठबन्धनको प्रयास भए पनि सफल भएको थिएन। लोसपालाई सरकारमा सहभागी गराएर निर्वाचनका लागि बनेको गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ सक्रिय छन्। उनी र महन्थ ठाकुरबिच पटक-पटक संवाद भइरहेका छन्।

आफ्नो पार्टीको माग अनुसार नागरिकता सम्बन्धी कानुन बनेकाले ठाकुर सकारात्मक भए पनि सिट बाँडफाँडको जटिलताका कारण उनले सहमति जनाइसकेका छैनन्।

उता माओवादी केन्द्र र एकीकृत समाजवादी एमाले छाडेका बामदेव गौतमलाई समेत गठबन्धनमा सहभागी गराउनुपर्ने पक्षमा देखिएका छन्। उनीहरूले गठबन्धनभित्रै पनि कांग्रेस बाहेकको दलको समाजवादी मोर्चा बनाउने अभ्यास गरेका थिए। मोर्चा निर्माणको प्रयास भने सफल भएको छैन। यदि शिर्षतहको प्रयास सफल भएमा संसदीय निर्वाचनमा एमालेले पाँच दलीय नभई आठ दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने सम्भावना बढी देखिन्छ।

साउन २३, २०७९ सोमबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।