
टरिगाउँ विमानस्थलबाट हप्ताको तीन दिन मात्र उडान हुने

दाङः टरिगाउँ विमानस्थलबाट हुने उडान घटेको छ। अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ।
नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ।
यसअघि यस विमानस्थलमा दैनिक हवाई सेवा समेत उपलब्ध थियो। उनले भने, “पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यसपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ।”
अब साउन अन्तिमतिर दैनिक उडान भर्ने तयारी रहेको उनको भनाइ छ। अहिले हप्तामा तीन दिन उडान भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए। सरदर १०/१२ यात्रु आवतजावत गर्ने गरेका छन्।
अहिले दाङ–काठमाडौं हवाई भाडा न्यूनतम रु आठ हजार ८१० छ, भने अधिकतम रु १२ हजार ६६५ रहेको छ। काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ।
अहिले यस विमानस्थलमा निगमको १९ सिटे ट्विनेटर आउने गर्छ। ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ।
अहिले ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग छ। त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ।
साउन २३, २०७९ सोमबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।