सह-अध्यक्ष पद दिए रवीन्द्र मिश्र राप्रपा जान तयार !

सह-अध्यक्ष  पद दिए रवीन्द्र मिश्र राप्रपा जान तयार !
तस्बिर : फाइल फोटो

काठमाडौँ : विवेकशील साझाको नेतृत्व छाडेर सार्वजनिक रूपमा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेका रवीन्द्र मिश्रले राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सह-अध्यक्ष पद मागेको दाबी आएको छ।

राप्रपा स्रोतका अनुसार उनले राजेन्द्र लिङ्देन पछिको हैसियत दिएमा आफू राप्रपामा आएन तयार रहेको बताएको तर यसबारे निर्णय भई नसकेको ती पदाधिकारीले उकेरालाई बताए।

स्थानीय तहको निर्वाचनमा समेत राप्रपासँग तालमेलको लागि छलफल गरेका मिश्र पार्टीभित्रै विरोध भएपछि ब्याक भएका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीले आशा गरे अनुसारको नतिजा नल्याएपछि नैतिकताका आधारमा भन्दै उनले सदस्य मात्र रहने गरी राजीनामा दिएका थिए। उनले राजीनामा दिए पनि पार्टीले नयाँ नेतृत्व चयन भने गर्न सकेको छैन।

जानकारस्रोतका अनुसार मिश्रले आफ्ना लागि सह-अध्यक्ष र आफ्नो पक्षका साझाका प्रवक्ता शरद पाठकलाई महामन्त्री पद दिनुपर्ने माग राखेका छन्।

तर अर्का नेता राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले अध्यक्षपछि आफ्नो हैसियत रहेकाले त्यसको बिचमा कुनै नयाँ पद निर्माण गरे स्वीकार्य नहुने बताएपछि सहमति हुन सकेको छैन।

‘उहाँले सह–अध्यक्ष र महामन्त्री पद भनिरहनुभएको छ। पार्टीमा सहमति भइसकेको छैन। तर केही समयमै त्यो हल हुन्छ,’ राप्रपाका एक पदाधिकारीले उकेरासँग भने।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने कुनै निश्चित पद नै मागेर छलफल भइरहेको भन्ने गलत भएको दाबी गरे। उनले विचार मिले पदको विषय गौण रहेको दाबी समेत गरे।

‘ठुला भनिएका दलहरूले समेत तालमेल र गठबन्धन गरिरहँदा हामीहरूले शक्ति बढाउने कुरा नौलो रहेन। उहाँहरूसँग छलफल भएको हो। विचार मिलेपछि पद त गौण हुन्छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘सह–अध्यक्ष र महामन्त्री पद मागिएको भन्ने सही होइन।’

मिश्रसँग पटक-पटक सम्पर्कको प्रयास गर्दा सफल भएन। विवेकशील साझाका पाठकसँग यही विषयमा जिज्ञासा राख्दा उनले २-३ हप्तादेखि अपडेट नलिएको तर राप्रपा प्रवेश गरेर महामन्त्री पद लिन खोजेको भन्ने गलत भएको दाबी गरे।

‘राप्रपा प्रवेश गर्ने र महामन्त्री माग गरिएको विषय सरासर गलत हो,’ पाठकले भने, ‘म बिरामी भएर रेस्टमा रहेँ २–३ हप्ताको अपडेट लिएको छैन।’

साउन २२, २०७९ आइतबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।