सहकारीका बचतकर्तालाई लक्षित गरेर आयो एटिएम जस्तै कोप कार्ड, भारतमा समेत चल्ने

काठमाडौँ : स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारीहरूको लागि सहकारी पहिचान सहितको कोप कार्ड सुरु गरेको छ। उसले राष्ट्रिय सहकारी बैङ्क लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेडबिचको सहकार्यमा राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा सो सेवाको सुरुवात गरेको हो।
नेपाल राष्ट्र बैङ्कको नीति तथा निर्देशन अनुरूप स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटीएमकार्ड, स्मार्टक्यूआर र मोबाइल बैङ्किङमार्फत सेवा दिँदै आएको छ।
उसले बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्र सुविधा दिने गरेकोमा अब सरकारीहरूले पनि न्यूनतम लागतमा एटिएम कार्ड जारी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई थप प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको सहकार्यमा बैङ्कमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्रान्डको कोप कार्ड जारी गर्ने तयारी गरेको हो।
कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम-पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोप कार्ड ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा राष्ट्रिय सहकारी बैङ्क मार्फत सहकारीहरूले जारी गर्नेछन्।
साउन २२, २०७९ आइतबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।