निलम्बित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग पुग्यो सिफारिस समितिमा

निलम्बित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग पुग्यो सिफारिस समितिमा

काठमाडौँ : प्रतिनिधि सभाको बहुमतले  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ। आइतबार बसेको बैठकमा महाअभियोगबारे छलफल भएको थियो।

महाभियोगमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले लामो समयसम्म प्रस्तावमाथि छलफल नगराएको भन्दै असन्तुष्टि जनाएका थिए भने सत्तापक्षका सांसदहरूले महाभियोग प्रस्तावको औचित्य पुष्टिको प्रयास गरेका थिए।

छलफलमा सांसदहरूले राणामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै विकृति बढाएको र भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको भन्दै आलोचना गरेका थिए।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राणाविरुद्धको प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउन सिफारिस गरेका थिए। उनको प्रस्ताव बैठकको बहुमतबाट पारित भएको हो।

राणा विरुद्ध २१ आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्तापछि राणा स्वतः निलम्बनमा छन्।

महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मीनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्। 

साउन २२, २०७९ आइतबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।