काठमाडौँ उपत्यकामा ब्युँतियो नो हर्न कार्यक्रम, अत्यावश्यक बाहेक हर्न बजाए कारबाही

काठमाडौँ उपत्यकामा ब्युँतियो नो हर्न कार्यक्रम, अत्यावश्यक बाहेक हर्न बजाए कारबाही

काठमाडौँ : काठमाडौँ उपत्यकामा आइतबारबाट 'नो हर्न' कार्यक्रम सुरु गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न कार्यक्रमलाई पुन निरन्तरता दिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको सुरुवात गरेका थिए।

प्रहरीले पाँच वर्ष अगाडि नै काठमाडौँ उपत्यकाका तीन जिल्लामा नो हर्न कार्यक्रम कार्यान्वयनमा ल्याए पनि पछिल्लो समय कडाइ गरेको थिएन। आइतबारबाट अब सो नियम उलङ्घन गरेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ।

'नो हर्न' अभियान सफल बनाउन आइतबारबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन्। हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ बाट नो हर्न लागु गरिएको थियो। जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।
कार्यक्रम रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट सुरुवात भएको थियो।

काठमाडौँ महानगरपालिकाका मेयर शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख चौधरी तथा भोलेन्टियर र पद्मकन्या क्याम्पसका प्राध्यापक र विध्द्यार्थीहरुले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनहरूमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए।

साउन २२, २०७९ आइतबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।