‘नाफा हुँदा आयल निगमको पोल्टामा, घाटाको भार उपभोक्तामा’

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकमा सांसद प्रदीप ज्ञवालीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन्। भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आए पनि निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनाएको थियो।
सदनको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन्। उनले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए।
“नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा, घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय”, ज्ञवालीले प्रश्न गरे।
उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गरे। उनले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लगाए।
साउन २२, २०७९ आइतबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।