ढुङ्गासहितको लेदो खस्दा डुम्रे–बेंसीशहर र बेंसीशहर-चामे सडक अवरुद्ध

काठमाडौंः निरन्तरको वर्षासँगै आएको पहिरोले डुम्रे–बेंसीशहर र बेंसीशहर-चामे सडक पुनः अवरुद्ध भएको छ। गएरातिदेखि यी सडकखण्ड अवरुद्ध भएको हो।
डुम्रे-बेंसीशहर सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडाको पहिरो र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारको पहिरोले बेंसीशहर-चामे सडक अवरुद्ध भएको हो।
वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्सकाभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ।
यही साउन ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो। सडक अवरुद्धका कारण बेंसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेंसीशहर आउने यात्रुहरू बढी मारमा परेका छन्। यस सडक ४२ किलोमिटर दूरीको छ।
त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेंसीशहर-चामे सडक रामबजारमा अवरुद्ध भएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन। सडकमाथिबाट ठूला ढुङ्गामाटासहितको पहिरो खसेको प्रहरीले जनाएको छ।
यस सडक हुँदै विशेषगरी मनाङबासीहरू आवतजावत गर्दछन्। पटक पटक सडक अवरुद्ध हुँदा समस्या भएको छ। यो सडकखण्ड ६५ किलोमिटरको छ।
साउन २२, २०७९ आइतबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।