प्रकाशमानको दाबी : लोभ नभएको नेताले नेतृत्व गर्दा देशको कसरी कायापलट हुन्छ देखाउँछु

प्रकाशमानको दाबी : लोभ नभएको नेताले नेतृत्व गर्दा देशको कसरी कायापलट हुन्छ देखाउँछु

काठमाडौँ : श्रीमतीलाई स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाएर आलोचित भएका कांग्रेस नेता प्रकाशमान सिंहले आफू फस्ट म्यान भएर काम गर्न पाए लोभ नभएको नेता ठाउँमा पुगे कसरी देशको कायापलट हुन्छ भनेर देखाउने दाबी गरेका छन्।

कांग्रेस नेता गणेशमान सिंह अनि नेतृ मङ्गलादेवी सिंहका सन्तान प्रकाशमानले शनिवार काठमाडौँमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ‘नम्बर वान म्यान’ भएर काम इच्छा व्यक्त गरेका हुन्।

पार्टीको १४ औँ महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन गर्ने भन्दै सभापतिमा उम्मेदवारी दिएर दोस्रो चरणमा प्रवेश गर्न अयोग्य भएपछि उनले शेरबहादुर देउवालाई नै सभापतिमा समर्थन गरेर नेतृत्व परिवर्तनको अभियान असफल बनाएका थिए।

स्थानीय तहको निर्वाचनमा पार्टी सभापति देउवालाई दबाबमा पारेर श्रीमती सिर्जना सिंहलाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाए पनि उनी पराजित भएकी थिइन्। उनै नेता सिंहले आफूलाई लोभ नभएको नेताको रूपमा अर्थ्याएका हुन्।

‘मलाई साथ दिए, मौका पाएँ भने, …तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु। नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु’ उनले शनिवार दाबी गरे।

सिंह काठमाडौँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन् आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उनको क्षेत्रबाट पुकार बम, पूर्व डिआइजी रमेश खरेल लगायतकाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेका थिए। सिंहले मिश्रलाई छिनो अन्तरले मात्र पराजित गरेका थिए। मिश्र अहिले साझाको नेतृत्वबाट हटेर संवैधानिक राजतन्त्रको पक्षमा खुलेर वकालत गरिरहेका छन्।

साउन २१, २०७९ शनिबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।