क्यानडा पठाउने भन्दै ठगी गर्ने छिरिङ पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने छिरिङ पक्राउ

काठमाडौंः क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्राउ गरेको छ। क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटेको टोलीले शेर्पालाई गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।

यसैबीच भारतबाट भन्सार छली ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौं गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ। 

त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो।

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुस्न्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साउन २०, २०७९ शुक्रबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।