चितुवाको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ

कैलालीः गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट चितुवाको एक थान छाला र करिब दुई किलोग्राम हड्डीहरूसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई गए राति प्रहरीले पक्राउ गरेको हो।
डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे गाउपालिका-६ बस्ने टेकबहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ बस्ने राजेन्द्रसिंह भण्डारी पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र-०४-००१च ०००६ नम्बरको बोलेरोलाई रोक्न खोज्दा नरोकेपछि समिर ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाएर ल्याएको छाला र हड्डीहरू फेला परेको हो।
समिरले बुडरबाट बोलेरो चलाएर ल्याई फल्टुडेमा चितुवाको छाला र हड्डीसहित टेकबहादुर र धिरेन्द्रले उक्त सवारी साधन प्रयोग गरी राजेन्द्रसिंह समेतको मिलेमतोमा अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले उनीहरूले ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
टाउकोदेखि पुच्छरसम्म चार फिट सात इन्च, पुच्छरको लम्बाई तीन फिट दुई इन्च, चौडाई दुई फिट दुई इन्च भएको चितुवाको छाला बरामद भएको हो।
साउन २०, २०७९ शुक्रबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।